काठमाडौं । युरोपको चर्चित फुटबल क्लब इन्टर मिलानको आधिकारिक फेसबुक पेजमा नेपाली गीत र नेपाली भाषाको क्याप्सन देखिएपछि नेपाली फुटबलप्रेमीहरू उत्साहित भएका छन्।
इन्टर मिलानले हालै आफ्नो फेसबुक पेजमा एउटा भिडियो पोस्ट गर्दै पृष्ठभूमिमा नेपाली गीत ‘आँखा झिमझिम भो…’ बजाएको छ भने क्याप्सनमा नेपाली भाषामै “सबैभन्दा महान : रोनाल्डो द फेनोमेनन” लेखिएको छ। साथै, ‘नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस्’ भन्ने सन्देश पनि समावेश गरिएको छ।
रोचक संयोग के छ भने उक्त गीत नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीको रचना हो। गज्जब टिभी युट्युब च्यानलमार्फत सात महिनाअघि सार्वजनिक गरिएको गीत सदीक्षा कट्टेल र समीर खरेलले गाएका हुन् भने संगीत बसन्त सापकोटाको रहेको छ। गीतको म्युजिक भिडियोमा कविता नेपाली र सुनिल क्षेत्री फिचर्ड छन्।
इन्टर मिलानले प्रयोग गरेको भिडियो भने करिब तीन दशकअघिको हो। सन् १९९७–९८ सिजनमा इन्टर मिलानले युइएफए कप जित्दा ब्राजिलका स्टार फुटबलर रोनाल्डो क्लबका लागि खेलिरहेका थिए। सोही ऐतिहासिक क्षणलाई समेटेर बनाइएको भिडियोमा नेपाली गीतको पंक्ति राखिएको हो।
पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्ताहरूले व्यापक प्रतिक्रिया दिएका छन्। धेरैले इन्टर मिलानप्रति आभार व्यक्त गर्दै ‘नेपाली गीत सुनाइदिनुभएकोमा धन्यवाद’ लेखेका छन् भने कतिपयले ठट्यौली शैलीमा ‘इन्टरको एडमिन नेपाली नै हुन् कि क्या हो’ भनेर टिप्पणी गरेका छन्। केही प्रयोगकर्ताले भने यसलाई सुखद् आश्चर्यका रूपमा लिएका छन्।
सन् १९०८ मा स्थापना भएको इन्टर मिलान इटालीको प्रतिष्ठित फुटबल क्लब हो। हालसम्म यस क्लबले इटालियन शीर्ष लिग सिरी ‘ए’ बाट कहिल्यै रेलिगेसन भोग्नु परेको छैन। इन्टर मिलानले सिरी ‘ए’ मा १८ पटक उपाधि जितेको छ। गत सिजन सिरी ‘ए’ को उपविजेता बनेको इन्टर मिलान यस सिजन २३ खेलपछि तालिकाको शीर्ष स्थानमा रहेको छ भने च्याम्पियन्स लिगमा नकआउट चरणमा पुग्न प्लेअफ खेल्ने सूचीमा रहेको छ।







प्रतिक्रिया