नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन भए आफ्नो पार्टी पहिलो दल बन्ने सम्भावना रहेको दाबी गरेका छन् ।
बुधबार काठमाडौंको स्वयम्भूमा आयोजित मुस्ताङ–काठमाडौं सम्पर्क मञ्चको चुनावी अभियान कार्यक्रममा सम्बोधन गर्दै उनले जनताको समर्थन अहिले नेकपाको पक्षमा रहेको जिकिर गरे ।
‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन भयो भने हाम्रो नेपाली कम्युनिस्ट पार्टी एक नम्बर पार्टी बन्ने सम्भावना छ,’ प्रचण्डले भने ।
उनले सामाजिक सञ्जालमा हुने चर्चाले मात्र चुनावी परिणाम नआउने स्पष्ट पार्दै नयाँ दलतर्फ संकेत गरे । ‘सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन,’ उनले भने ।
प्रचण्डका अनुसार देशलाई एकतावद्ध गर्न सक्ने, सबै वर्ग र समुदायलाई जोड्न सक्ने, भ्रष्टाचारविरुद्ध उभिन सक्ने तथा सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मार्गमा अगाडि बढाउन सक्ने नेतृत्व को हो भन्ने कुरा नेपाली जनताले बुझिसकेको छ ।
‘राष्ट्रलाई एकतावद्ध गर्न सक्ने, भ्रष्टाचारविरुद्ध र सामाजिक न्यायका पक्षमा उभिन सक्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउन सक्ने पार्टी र नेतृत्व नेकपा नै हो भन्ने कुरा जनताले बुझिसकेका छन्,’ उनले थपे, ‘त्यसैले सही किसिमले निर्वाचन हुँदा यो पटक हामी सही पोजिसनमा आउँछौं।’







प्रतिक्रिया