प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा मौसम प्रतिकूल भए फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणमा गरिने स्पष्ट पारेकी छन् ।
मंगलबार नवलपुरको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा आयोजित कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा अत्यधिक चिसो वा हिमपातका कारण समस्या आए निर्वाचन दोस्रो चरणमा सारिने बताइन् ।
‘यदि हिमाली जिल्लामा हिमपातको अवस्था आयो भने त्यहाँ दोस्रो चरणमा निर्वाचन गरिन्छ,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले फागुन २१ मा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त रहेको पनि बताइन् । उनका अनुसार हाल सरकारको सम्पूर्ण ध्यान निर्वाचनमै केन्द्रित छ र शान्तिपूर्ण, निष्पक्ष निर्वाचन गराउन आवश्यक सबै तयारी गरिएको छ ।
‘सवारी साधन सञ्चालन हुने ठाउँमा मतदातालाई ओसारेर भए पनि निर्वाचन गराउने सरकारको तयारी छ,’ उनले भनिन्, ‘अहिले विशेष परिस्थितिमा निर्वाचन हुँदैछ । निर्वाचनमा करिब ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ र छिमेकी राष्ट्रबाट पनि सहयोग प्राप्त भएको छ । यदि निर्वाचन नहुने हो भने त्यो रकम अन्य विकासका क्षेत्रमा खर्च गर्न सकिन्थ्यो ।’
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै नागरिकलाई उत्साहजनक सहभागिता र सहयोग गर्न आग्रह गरिन् ।







प्रतिक्रिया