नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं–५ का मतदाताबाट उत्साही र सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।
बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा सांसदका रूपमा गरेको कामका आधारमा मतदाताले आफूलाई समर्थन जनाइरहेको बताए । ‘तपाईंलाई भोट दिन्छौं, तपाईंजत्तिको विकल्प अरू छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ महामन्त्री पौडेलले भने ।
काठमाडौं–५ बाट कांग्रेस उम्मेदवार रहेका पौडेलले आफू सांसद रहँदा विष्णुमति करिडोरको रेखांकन गरी सडक निर्माणको काम अघि बढाएको उल्लेख गरे । उनले थुप्रै विकासका काम भए पनि ती कामको पर्याप्त प्रचार हुन नसकेको स्वीकार गर्दै अब मतदातामाझ भएका कामको जानकारी दिन आवश्यक रहेको बताए ।
रिङ रोडको अवस्थाबारे उल्लेख गर्दै उनले भने, ‘पहिले रिङ रोड भद्रगोल अवस्थामा थियो, अहिले धमाधम काम भइरहेको छ ।’ मेलम्ची खानेपानी आयोजनाअन्तर्गत रिङ रोडभित्र चुहावट भएर जताततै देखिएको समस्यासमेत आफ्नै पहलमा समाधान भएको र यसले सडकको दुर्दशा कम भएको उनको भनाइ थियो ।
महामन्त्री पौडेलका अनुसार मेलम्चीको पानी रिङ रोडबाहिरसमेत वितरण गर्ने व्यवस्था गरिएको छ । हाल बूढानीलकण्ठ र टोखा नगर क्षेत्रमा धारा जडान भई पानी वितरण भइरहेको उनले बताए ।
‘हामी आएपछि निरन्तर पैरवी गरेर रिङ रोडबाहिर पनि पानी वितरण सम्भव भएको हो,’ उनले भने, ‘हाम्रा नेता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा यो काम सम्भव भएको थियो ।’







प्रतिक्रिया