रिलायन्स इन्डस्ट्रिज लिमिटेड (RIL) अन्तर्गतको जियो स्टुडियोले ओस्कार विजेता भारतीय उत्पादन गृह सिख्या इन्टरटेनमेन्टको ५०.१ प्रतिशत हिस्सेदारी ₹१५० करोडमा अधिग्रहण गरेको छ । यो सम्झौता फेब्रुअरी २, २०२६ मा सम्पन्न भएको हो ।
यो लगानी रिलायन्स इन्डस्ट्रिजको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिलायन्स स्ट्राटेजिक बिजनेस भेन्चर्स लिमिटेड (RSBVL) मार्फत कार्यान्वयन गरिएको हो । यस कदमसँगै भारतको मिडिया तथा मनोरञ्जन क्षेत्रमा जियो स्टुडियोको उपस्थिति थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
गुनीत मोंगा कपूर र अचिन जैनद्वारा सह–स्थापित सिख्या इन्टरटेनमेन्ट विश्वस्तरमा प्रशंसित कथा कथनका लागि परिचित उत्पादन गृह हो । सिख्या भारतको एकमात्र यस्तो उत्पादन कम्पनी हो जसले दुई एकेडेमी अवार्ड (ओस्कार) जितेको छ । उसले अ पिरियड. एन्ड अफ सेण्टेन्स र द एलिफन्ट व्हिस्परर्स का लागि ओस्कार जितेको हो । साथै, मसान, सुरराय पोत्रु र कथल जस्ता फिल्ममार्फत उसले थुप्रै राष्ट्रिय फिल्म पुरस्कारहरू पनि हात पारेको छ ।
यस साझेदारीमार्फत जियो स्टुडियो र सिख्या इन्टरटेनमेन्टले भारतीय तथा अन्तर्राष्ट्रिय दर्शकहरूलाई लक्षित गर्दै फिल्म तथा वेब शृङ्खलाहरू सह–निर्माण गर्ने लक्ष्य लिएका छन् । सम्झौताअनुसार सिख्या इन्टरटेनमेन्टले आफ्नो विद्यमान नेतृत्वअन्तर्गत स्वतन्त्र रूपमा काम जारी राख्नेछ ।
जियो स्टुडियोकी अध्यक्ष ज्योति देशपाण्डेले विशिष्ट भारतीय आवाजहरूलाई समर्थन गर्ने र तिनका कथाहरूलाई विश्वव्यापी मञ्चमा पुर्याउने दीर्घकालीन दृष्टिकोणअनुसार यो साझेदारी महत्वपूर्ण हुने बताएकी छन् ।







प्रतिक्रिया