फिल्म र संगीतलाई युट्युबमा भ्यूज पाउन कठिन भइरहेका बेला फिल्म ‘ऊनको स्वीटर’ ले भने दर्शकको लोभलाग्दो साथ पाएको छ। २२ जनवरीमा युट्युबमा रिलिज भएको यो फिल्मले बिहीबारसम्म ६६ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ।
थिएटरमा समेत सफल रहेको फिल्मले नेपालभरबाट १० करोड ६२ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो भने भारतमा पनि करिब डेढ करोड भारतीय रुपैयाँ आम्दानी गरेको बताइएको छ।
फिल्मका गीत–संगीतले यसको लोकप्रियतामा ठूलो भूमिका खेलेका छन्। ‘फूल’, ‘चाइनेजो जिन्दगानीमा’, ‘काफ्ले’ र ‘मखमली’ जस्ता गीतहरू दर्शकमाझ निकै रुचाइए। हलमा चर्चा बटुलेको फिल्मले युट्युबमा पनि त्यही इतिहास दोहोर्याएको छ। कमेन्ट सेक्सनमा प्रशंसाको वर्षा भइरहेको छ भने दर्शकहरूले दोस्रो श्रृंखलाको मागसमेत गरेका छन्।
युट्युबमा फिल्मले उल्लेख्य सफलता पाएपछि अभिनेता विपिन कार्की ले भिडियो सन्देशमार्फत दर्शकप्रति आभार व्यक्त गरेका छन्। उनले दर्शकको मायाले आफू निःशब्द बनेको उल्लेख गर्दै गहिरो धन्यवाद दिएका छन्।
नवीन चौहान को निर्देशनमा बनेको फिल्ममा विपिन कार्कीसँगै मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई र सुनिल पोखरेल लगायत कलाकारको अभिनय रहेको छ।







प्रतिक्रिया