आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटअगाडिको अन्तिम वार्म–अप खेलमा नेपालले अमेरिकासँग ६ विकेटको पराजय बेहोरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १३७ रनको लक्ष्य अमेरिकाले पाँच बल बाँकी रहँदा चार विकेट गुमाउँदै पूरा गर्यो।
अमेरिकाका लागि चेतना पगड्यालाले ४६ बलमा अविजित ५६ रन बनाउँदै टोलीलाई जित दिलाइन्। इसानी वाघेलाले २०, ऋतु सिंहले अविजित १९, एला क्लारिजले १४ र कप्तान अदितिबा चुडासमाले १३ रनको योगदान गरे। नेपालका तर्फबाट रिया शर्मा, सुमन विष्ट र रुविना क्षेत्रीले एक–एक विकेट लिइन्।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालका लागि विन्दु रावलले २७, सम्झना खड्काले २४, कविता जोशीले २०, रोम थापाले १९ र पूजा महतोले १७ रन बनाइन्। अमेरिकाका बलर तरनुम चोपडाले तीन विकेट लिइन् भने सैनावी कम्बालापल्लीले दुई तथा गीतिका कोदली र ऋतु सिंहले एक–एक विकेट हात पारिन्।
यसअघि नेपाल पहिलो वार्म–अप खेलमा आयरल्यान्डसँग ९९ रनले पराजित भएको थियो।







प्रतिक्रिया