अस्ट्रेलियन महिला टोलीकी कप्तान अलिसा हिलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अस्ट्रेलियन महिला क्रिकेट टोलीकी कप्तान तथा अनुभवी विकेटकिपर–ब्याटर अलिसा हिलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेकी छन् । उनले भारतविरुद्ध हुने घरेलु सिरिजपछि सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने बताएकी हुन् ।

३५ वर्षीया हिलीले फेब्रुअरीमा हुने टी–२० अन्तर्राष्ट्रिय खेलहरू नखेल्ने निर्णय गरिसकेकी छन्, जससँगै उनी टी–२०आई करियरबाट पनि विदा भएकी छन् । अब भारतविरुद्धको एकदिवसीय र टेस्ट सिरिज नै उनको अन्तिम अन्तर्राष्ट्रिय सहभागिता हुनेछ ।

करिब दुई दशक लामो करियरमा हिलीले अस्ट्रेलियाका लागि सबै फर्म्याटमा महत्वपूर्ण योगदान दिएकी छन् । महिला एकदिवसीय क्रिकेटमा उनले १२३ खेल खेल्दै ७ शतक र १८ अर्धशतकसहित ३५६३ रन बनाएकी छन् ।

त्यस्तै, महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६२ खेलमा १ शतक र १७ अर्धशतकसहित ३०५४ रन जोडिन् । टेस्ट क्रिकेटमा उनले १० खेलमा ३ अर्धशतकसहित ४८९ रन बनाउँदै विकेटकिपरका रूपमा समेत प्रभावशाली प्रदर्शन गरेकी छन् ।

सन्यासबारे प्रतिक्रिया दिँदै हिलीले आफूमा पहिले जस्तो प्रतिस्पर्धात्मक ऊर्जा महसुस हुन छोडेकाले यो निर्णय सही लागेको बताएकी छन् । उनको सन्याससँगै अस्ट्रेलियाले आगामी टी–२० विश्वकपको तयारी नयाँ कप्तानको नेतृत्वमा गर्नुपर्नेछ ।

हाल टोलीकी उपकप्तान टालिया म्याकग्राथसँगै एश्ली गार्डनर र फोबे लिचफिल्ड सम्भावित कप्तानका रूपमा चर्चामा छन् ।

हिलीले आफ्नो करियरमा ६ पटक टी–२० विश्वकप र २ पटक एकदिवसीय विश्वकप जित्दै अस्ट्रेलियन महिला क्रिकेटलाई विश्वस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेकी छन् ।