अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन तत्कालका लागि रोकिएको छ। उच्च अदालत पाटनले आगामी माघ २८ गतेका लागि तय गरिएको निर्वाचनसँग सम्बन्धित सबै कार्यहरू अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सो आदेश उच्च अदालत पाटनका न्यायधिश कृपासर कार्कीको एकल इजलासले सोमबार जारी गरेको हो। निर्वाचन रोक्न माग गर्दै अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए।
अदालतको आदेशमा भनिएको छ कि ‘मिति २०८२/०९/२१ मा नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचना अनुसार उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचन सम्बन्धी कुनै पनि कार्य नगर्नु’।
यसैबीच, अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी माघ ६ गते बोलाएको छ। साथै, विपक्षी पक्षलाई आदेश जारी गर्नु नपर्ने आधार भए १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिइएको छ।
यस आदेशसँगै एन्फाको कार्यसमिति निर्वाचनमा हाल सबै प्रक्रिया रोकिन पुगेको छ।







प्रतिक्रिया