त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी भएको एक हप्ता पूरा भएको छ। नेपाली कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चार केन्द्रीय विभागको शुल्क घटाउने सहमति कार्यान्वयन नभएको भन्दै १८ पुसमा तालाबन्दी गरेपछि विश्वविद्यालयको प्रशासनिक काम प्रभावित भएको हो।
कार्यकक्षमा ताला लागेपछि उपकुलपति प्रा.डा. दीपक अर्याल कीर्तिपुरस्थित विभिन्न विभागमा बसेर नियमित काम गरिरहेका छन्। उनले कार्यकक्षमा नबस्न पाउँदा वार्ता र निर्णय प्रक्रिया प्रभावित भएको भन्दै तालाबन्दी खोलेर छलफल गर्नुपर्ने अडान राखेका छन्। साथै, आफूलाई ‘चोर’ र ‘दलाल’ भन्दै धम्कीपूर्ण सन्देश आएको पनि बताएका छन्।
विद्यार्थी पक्षले भने १० भदौमा भएको सहमति अनुसार चार विभागको शुल्क १ लाख १० हजार कायम गर्न उपकुलपतिले स्पष्ट प्रतिबद्धता जनाए तत्कालै तालाबन्दी खोल्न तयार रहेको जनाएको छ। तर, उपकुलपति अर्यालले आर्थिक र प्रक्रियागत कारण देखाउँदै तत्काल निर्णय सम्भव नभएको र कार्यकारी परिषद्बाट निर्णय गर्नुपर्ने बताएका छन्।
तालाबन्दीका कारण अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग तय भएका भेटघाट र समझदारीसमेत प्रभावित भएका छन्। यसअघि सर्वोच्च अदालतले विश्वविद्यालयमा तालाबन्दी नगर्न अन्तरिम आदेश दिएको भए पनि त्यसविपरीत पुनः तालाबन्दी गरिएको छ।
विद्यार्थीहरूले अब सहमति कार्यान्वयन गराउन शिक्षामन्त्रीसमक्ष गुहार्ने तयारी गरेको बताएका छन्।







प्रतिक्रिया