शिक्षामन्त्री महावीर पुनले साउदी अरब र इजरायलको औपचारिक भ्रमणको निमन्त्रणा अस्वीकार गरेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विदेश भ्रमणभन्दा देशको अर्थतन्त्र सुधार प्राथमिकता भएको उल्लेख गरेका हुन्।
मन्त्री पुनका अनुसार साउदी अरबको रियादमा आयोजना हुने मानव क्षमता पहल (Human Capability Initiative) को तेस्रो संस्करणमा वक्ताका रूपमा सहभागी हुन तथा इजरायलको जेरुसेलममा आयोजना हुने शैक्षिक सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा आएको थियो। तर, उनले यी दुवै कार्यक्रममा नजाने निर्णय गरेका छन्।
उनले यसअघि पनि मन्त्री बनेपछि आएका तीनवटा विदेश भ्रमणका निमन्त्रणाहरू अस्वीकार गरिसकेको उल्लेख गर्दै फेरि दुईवटा निमन्त्रणा आएको तर त्यसमा पनि सहभागी नहुने स्पष्ट पारे। मन्त्री पुनले देशको अर्थतन्त्र नसुध्रिएसम्म प्रधानमन्त्री वा अर्थमन्त्री परिवर्तन भए पनि ठोस प्रगति सम्भव नहुने टिप्पणी गरेका छन्।
‘देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि केही हुनेवाला छैन। केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?’ उनले फेसबुकमा लेखेका छन्।
खेलकुदमन्त्री बब्लु गुप्ताको विदेश भ्रमण स्वीकृत भएपछि विवाद उत्पन्न भएको सन्दर्भमा सरकारमै रहेका मन्त्री पुनले भने आफूले लगातार विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गर्दै आएको बताएका छन्।







प्रतिक्रिया