कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ। कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो। समितिका सदस्यहरू सहमहामन्त्री ऋषिराम घिमिरे र जीवन डंगोल रहेका छन्।

यसअघि मंगलबारै मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाउने अविश्वास प्रस्ताव पारित भएको थियो। मतदानमा लामाको पक्षमा १५ मत परे पनि विपक्षमा २२ मत परेको थियो। संसदीय दलको नेताबाट पदमुक्त भएका लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पार्नुभएको छ।

लामालाई पदबाट हटाउन २१ जना सांसदको हस्ताक्षरसहित आइतबार अविश्वास प्रस्ताव संसद सचिवालयमा पेश गरिएको थियो। केन्द्रीय प्रतिनिधि राजन केसीको उपस्थितिमा मतदानमार्फत उक्त प्रस्ताव पारित भएको हो। नयाँ नेतृत्व चयनका लागि गठन भएको निर्वाचन समितिले अब प्रक्रियालाई अघि बढाउनेछ।