काठमाडौँ — लेखक तथा मानवशास्त्री सुमन सौरभको छैठौं कृति ‘रे’ को लोकार्पण काठमाडौंमा आयोजित कार्यक्रममा सम्पन्न भएको छ। कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, कवि नरेन्द्रकुमार नगरकोटी, तुलसीहरि कोइरालालगायतले लघुकथा संग्रह सार्वजनिक गरे।
‘लघुकथाको रचना विधान’का सर्जक प्रा.डा. गौतमले सुमन सौरभले सधैं प्रयोगधर्मी र पृथक लघुकथा सिर्जना गर्दै आएको बताउँदै उनको कथामा स्पष्ट बौद्धिकता र सृजनशीलता देखिएको बताए। लघुकथा समाजद्वारा आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष रोदनले सुमनको लघुकथा लेखनले साहित्यिक परिवर्तन र नवप्रवर्तनमा योगदान पुर्याएको बताए। “लोकार्पित कृति ‘रे’ का हरेक लघुकथाले गहिरो अर्थ बोकेको छ,” उहाँले भने।
कार्यक्रममा कवि तथा सञ्चारकर्मी मणि लोहनीले सुमन सौरभलाई नेपालका पाँच प्रमुख लघुकथाकारमध्ये एक बताउँदै नेपाली कथालाई नयाँ दिशा दिन सफल भएको उल्लेख गरे। कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटीले कृति प्रकाशनका विविध सन्दर्भ र प्रक्रिया बारे जानकारी गराए। समाजका अध्यक्ष तुलसीहरि कोइरालाले सुमनको कथामा मौलिक आख्यान र कथ्य शैलीको विशिष्टता रहेको बताए।
सुमन सौरभले आफ्नो लघुकथा लेखनको रचनागर्भ र पृष्ठभूमिबारे जानकारी दिँदै एउटा लघुकथा तयार गर्न लगभग छै महिना समय लागेको बताउनुभयो।







प्रतिक्रिया