नवौं एनभीए क्लब भलिबल च्याम्पियनसिप: महिलातर्फ पुलिस र न्यु डायमण्ड उपाधिका लागि भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब आमनेसामने हुने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। पुलिसले २५–१२, २९–३१, २५–१४ र २५–१८ को सेट जित्दै फाइनल यात्रा तय गरेको हो।

यसअघि शुक्रबार बिहान भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नेपाल एपीएफ क्लबलाई २५–१७, २५–२० र २५–७ को सोझो ३–० को सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो। अब पुलिस र न्यु डायमण्डबीचको फाइनल खेल शनिबार दिउँसो १ बजे हुनेछ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि शनिबार नै हुने नेपाल भलिबल संघले जनाएको छ। यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोली सहभागी रहेका छन्। प्रतियोगिताबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोली छनोट भई दशौं पीएम कप–एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागिता जनाउने अवसर पाउने छन्।

नेपाल भलिबल संघका अनुसार महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पाउनेछन्। साथै उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार र विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।