भेरी अस्पताल नेपालगञ्जमा किशोर-किशोरीमा सिफलिस अनुसन्धान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज — भेरी अस्पतालमा किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी वैज्ञानिक अनुसन्धान सुरु गरिएको छ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा छाला र यौन रोग विशेषज्ञ डा. बद्री चापागाइँले जानकारी दिँदै भने, “यस रोगको सामाजिक र आर्थिक असर बुझ्न एकवर्षे अध्ययन सुरु गरिएको छ। बिरामीलाई सहज पहुँचका लागि अस्पतालमा भेनस कर्नर स्थापना गरिएको छ।”

डा. चापागाइँका अनुसार सिफलिस केवल व्यक्तिगत स्वास्थ्य समस्या नभई सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग गाँसिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या हो। उनले भने, “धेरै उपचार पूरा भइसकेका व्यक्ति पनि रगतको ‘टीपिएच ए’ परीक्षण पोजेटिभ भएकै कारण वैदेशिक रोजगारीका लागि अयोग्य ठहरिन्छन्, तर यसको अर्थ सङ्क्रमण सर्ने अवस्था होइन।”

अध्ययनले सिफलिसको वास्तविक अवस्था, उपचारमा देखिएका चुनौती, स्वास्थ्यकर्मीमा विद्यमान भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छना बुझ्ने लक्ष्य राखेको छ। यसबाट राष्ट्रिय एसटिआई मार्गनिर्देशन र वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार हुने विश्वास व्यक्त गरिएको छ।

डा. चापागाइँले सबै नागरिकलाई समयमै परीक्षण र उपचारमा ध्यान दिन आग्रह गर्दै भने, “सिफलिस उपचारयोग्य रोग हो, उचित उपचारले पूर्ण रूपमा निको पार्न सकिन्छ।”

यो अनुसन्धान सन् २०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने छ।