नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताएका छन् । सोमबार वानेश्वर बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले यी क्षेत्रको सुधार अपरिहार्य रहेको स्पष्ट पारे ।
संयोजक प्रचण्डले शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि सामुदायिक शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न आफूले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे । उनले जेन–जी आन्दोलनपछिको वर्तमान परिस्थितिमा देशका लागि उत्तम विकल्प निर्वाचन नै भएको धारणा राखे ।
सङ्कटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने उल्लेख गर्दै उनले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी अब युवापुस्ताको काँधमा आएको बताए । हालै देखिएको जेन–जी पुस्ताको आन्दोलनले युवापुस्ताको सक्रिय सहभागिताबाट देशको शासन प्रणाली र समग्र अवस्थाबारे नवयुवाहरू सचेत र जिम्मेवार रूपमा आन्दोलित हुन चाहेको स्पष्ट भएको उनको भनाइ थियो ।
‘नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेन–जी आन्दोलनले त्यो भ्रम गलत सावित गरिदिएको छ,’ संयोजक प्रचण्डले भने, ‘नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेका छन् ।’
उनले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवापुस्तालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत निकास दिनुपर्ने आवश्यकता औँल्याए । युवालाई आग्रह गर्दै उनले भने, “अब शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाटै देशलाई अगाडि बढाऔँ ।”







प्रतिक्रिया