छ महिनापछि खुल्यो रसुवागढी नाका, आजदेखि आवतजावत पुनः सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

छ महिनादेखि बन्द रहेको रसुवागढी नाकाबाट आजदेखि आवतजावत पुनः सुरु भएको छ। आज बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान थालेका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज सम्पन्न भएसँगै नाका खोल्ने तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार सीमा क्षेत्रका चिनियाँ समकक्षीले यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने जानकारी पठाएका थिए।

गत असार २४ गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक तथा सामानको व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधिहरू पनि केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए।

ल्हेन्दे खोलाको मितेरी पुल बाढीले बगाएपछि असारदेखि नै नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प बनेको थियो। यस अवधिमा गत वर्षको तुलनामा भन्सार शुल्कबापत करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए।

बाढीका कारण टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पुगेको थियो भने रसुवागढी–स्याफ्रुबेँसी १६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा नदी कटान भएको थियो।

नाकाको आवतजावत पुनः सुरु भएसँगै व्यापार व्यवसाय क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।