काठमाडौँ उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ६० ओटा दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा ३४ ओटा मोटरसाइकल र २६ ओटा स्कुटर धनीलाई बुझाएका हुन्।
ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही सवारी साधन वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, टोखा, नयाँबसपार्क, बालकुमारी, भाटभटेनी, भक्तपुर, लोकन्थली, नाला, बनेपा, बसन्तपुर, किर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट, सोह्रखुट्टे, कपन, सुडाल र जरङ्खुलगायत स्थानबाट फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ।
आज हस्तान्तरण गरिएका ६० ओटा सहित गत साउन यता ट्राफिक प्रहरीले जम्मा १८१ ओटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। साथै चोरीमा संलग्न २५ जना व्यक्तिहरू र चोरीका १३ ओटा दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तमा पठाइएको छ।
सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए। आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र २०८१/०८२ मा ५०३ ओटा दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी धनीलाई फिर्ता गरिएको ट्राफिक प्रहरीको तथ्यांक छ।
यसैबीच, सवारी चोरी तथा हराउने घटनाबाट जोगिन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न र एकान्त स्थानमा सवारी साधन नरोख्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले आग्रह गरेका छन्।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ।







प्रतिक्रिया