प्रलोभनमा पारी म्यानमारमा अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रमा काममा लगाइएका ४७ जना नेपाली आज स्वदेश फर्किएका छन्। नेपाली राजदूतावास बैंककले थाइल्याण्डका सम्बन्धित निकायहरूको सहकार्यमा उनीहरूलाई उद्धार गरी नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल पठाएको जानकारी दिएको छ। उद्धार गरिएका मध्ये ४५ जना पुरुष र २ जना महिला रहेका छन्, र उनीहरू १७ देखि ४१ वर्ष उमेर समूहका छन्।
उद्धार गरिएका व्यक्तिहरू चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा, तनहुँ, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक, उदयपुर र झापा जिल्लाबाट रहेका थिए। उनीहरू स्क्यामिङ्ग केन्द्रमा दुई महिनादेखि १८ महिनासम्म काममा लगाइएका थिए।
दूतावासका अनुसार, नेपालीहरूलाई प्रलोभनमा पार्ने क्रममा विभिन्न व्यक्ति, साथीभाइ, अनलाइन गेमिङ्ग साथी, सामाजिक सञ्जाल विज्ञापन आदिको प्रयोग गरिएको थियो। ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक, टेलिग्राम जस्ता प्लेटफर्ममार्फत ‘घण्टामा यति कमाई’ हुने आश्वासन दिई आकर्षित मुलुकमा लगिने गरिएको थियो।
स्क्यामिङ्ग केन्द्रमा पुग्दा प्रारम्भमा आरामदायी काम दिइने, केही समयपछि निश्चित लक्ष्य (टार्गेट) पुरा गर्न दबाब दिइने, असफल हुँदा अपराधको दोष लगाएर आर्थिक तथा शारीरिक शोषण, बन्धक बनाइ परिवारबाट फिरौती माग, जेल वा हत्या जस्ता यातना भोग्नुपर्ने अवस्था रहेको दूतावासले जनाएको छ। त्यहाँबाट भाग्न खोज्दा, अर्को व्यक्तिलाई पठाउनुपर्ने शर्त राखेर स्वतन्त्रता पनि रोकिएको थियो।
नेपालका लागि थाइल्याण्डस्थित दूतावासले विगत तीन आर्थिक वर्षमा क्रमशः ६८, १५६ र चालु वर्षमा १४१ जनालाई उद्धार गरी नेपाल पठाएको छ। दूतावासले वैदेशिक रोजगारमा जाने अघि सामाजिक सञ्जाल, साथीभाइ वा अन्य स्रोतबाट आएका प्रस्तावहरूको आधिकारिकता सुनिश्चित गर्न, नेपाल सरकारले तोकेका मापदण्ड अनुसार मात्र श्रम स्वीकृति लिएर जाने, र प्रलोभनमा पारी छिटो पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार वा थाइल्याण्डजस्ता देशमा नजाने आग्रह गरेको छ।







प्रतिक्रिया