चार प्रान्तको पाकिस्तान अब १२ भागमा विभाजित हुने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शासन सुधारको बहानामा पाकिस्तानले आफ्नो संघीय संरचनामा ठूलो परिवर्तन गर्ने तयारी थालेको छ। हालका ४ प्रान्तलाई १२ वटामा विभाजन गर्ने योजना अघि बढिरहेको पाकिस्तानका सञ्चारमन्त्री अब्दुल अलिम खानले स्पष्ट पारेका छन्। उनका अनुसार सिन्ध र पन्जाबमा तीन–तीन नयाँ प्रान्त बनाउन सकिने देखिएको छ, भने बलुचिस्तान र खैबर पख्तुनख्वामा पनि यस्तै ‘साना प्रान्त’ संरचना लागू गर्न सरकार गम्भीर छ। अलिम खानले छिमेकी देशहरूमा साना प्रान्तहरूको प्रचलन रहेको भन्दै पाकिस्तानले पनि त्यही बाटो समात्नुपर्ने तर्क गरे।

यद्यपि सरकारको यस्तो प्रस्ताव आधिकारिक रुपमा टुंगोमा नपुगे पनि मिडियामा चर्चित सम्भावित प्रान्तहरूमा—उत्तरी, मध्य र दक्षिणी पन्जाब; कराची सिन्ध, मध्य सिन्ध, माथिल्लो सिन्ध; उत्तरी, दक्षिणी र आदिवासी केपी; तथा पूर्वी, पश्चिमी र दक्षिणी बलुचिस्तान—जस्ता नामहरू रहेको छ। तर यसबीच सत्तारूढ गठबन्धनमै रहने पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले सिन्धको विभाजन कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिँदै कडा विरोध गर्दै आएको छ। एएनपी, बलुच राष्ट्रवादी दलहरूलगायत साना दलहरूले पनि यसलाई ‘फुटाऊ र शासन गर’ नीति भन्दै विरोध गरिरहेका छन्, जसले स्थानीय पहिचान, भाषा, संस्कृति र व्यापक राजनीतिक सन्तुलन कमजोर हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यदि पाकिस्तान १२ प्रान्तमा विभाजित भयो भने देशको प्रशासनिक संरचना, शक्ति–सन्तुलन, स्रोत–वितरणदेखि राजनीतिक पहुँचसम्म सबैमा ठूलो परिवर्तन हुनेछ। तर यसैबीच कराचीमा ‘अलग सिंधुदेश’ को माग झनै तीव्र बन्दै गएको छ। जिए सिंध मुत्तहिदा महाज (जेएसएसएम) ले आयोजना गरेको र्यालीमा प्रहरीले रोक्न खोज्दा झडप सम्म भएको छ र झन्डै ४५ प्रदर्शनकारी पक्राउ परेका छन्। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले ‘सिंध भारतमा मिल्नेछ’ भन्ने अभिव्यक्तिपछि पाकिस्तानभित्र झनै राजनीतिक तापमान बढेको छ। सिंध संस्कृति दिवसका समारोहमै छुट्टै राष्ट्रको माग खुलेआम उठिरहेको छ, जसले पाकिस्तानको भविष्य राजनीतिक नक्सा कस्तो बन्छ भन्नेबारे थप अनिश्चितता बढाएको छ।