रिलायन्स स्पिनिङ मिल्सले ५७ करोड नगद लाभांश बाँड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बिहीबार काठमाडौंमा सम्पन्न कम्पनीको साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको हो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। उक्त लाभांशमा प्रचलित कानुनअनुसार लाग्ने करसमेत समावेश छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय प्रतिवेदन पनि पारित गरेको छ।

गोल्यान ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले व्यवसाय विस्तार गर्ने योजना पनि अघि बढाएको छ। साधारणसभाले अत्याधुनिक प्रविधियुक्त उद्योग स्थापना गर्ने र विभिन्न प्रकारका फाइबर उत्पादन गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीले अल्लो, हेम्प र केरालगायत प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्ने, विभिन्न प्रकारका कपडा तथा गार्मेन्ट बनाउने र फाइबर, धागो तथा कपडाको रङ्गाइ गर्ने योजना बनाएको छ। यससँगै कम्पनीले कपडा तथा तयारी पोसाक उद्योगमा समेत प्रवेश गर्ने रणनीति अघि बढाएको छ।

प्राकृतिक तथा स्थानीय स्रोतमा आधारित फाइबरलाई आधुनिक प्रविधिसँग जोडेर मूल्य अभिवृद्धि गर्ने लक्ष्य कम्पनीले लिएको छ।

साधारणसभाले कम्पनीको सञ्चालक समिति संरचनामा पनि परिवर्तन गरेको छ। संशोधित व्यवस्थाअनुसार संस्थापक सेयरधनी समूहबाट चार जना, सर्वसाधारण सेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालकसहित कुल ६ सदस्यीय सञ्चालक समिति रहनेछ।

निर्वाचनबाट संस्थापक सेयरधनी समूहका तर्फबाट पवनकुमार गोल्यान, शशिकान्त अग्रवाल, अक्षय गोल्यान र किरणदेवी अग्रवाल सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित भएका छन्। सर्वसाधारण सेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, साधारणसभाले वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय पनि अनुमोदन गरेको छ।