कांग्रेस महाधिवेशनमा पत्रकार पृष्ठभूमिका ६ जनाको उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकार पृष्ठभूमिका ६ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।

महाधिवेशन निर्वाचन समितिले तय गरेको तालिकाअनुसार मंगलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा उनीहरूले विभिन्न पदमा उम्मेदवारी दिएका हुन्।

यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहिसकेका पत्रकार अजयबाबु शिवाकोटीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिएका छन्।

त्यस्तै, वरिष्ठ पत्रकार कविर राणाले केन्द्रीय सदस्य (खुला) तथा समिरजंग शाह, शिव लम्साल र बाला अधिकारीले केन्द्रीय सदस्य (पेसागत) तर्फ उम्मेदवारी दिएका छन्। कमला हमालले केन्द्रीय सदस्य (युवा, महिला ३५ वर्षमुनि) पदमा उम्मेदवारी दिएकी छन्।

बाला अधिकारी यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

उम्मेदवारी दिएका सबै जना कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग आबद्ध छन्। राणा युनियनका केन्द्रीय सल्लाहकार, शाह पूर्वअध्यक्ष, लम्साल वर्तमान अध्यक्ष, अधिकारी पूर्वअध्यक्ष र हमाल वर्तमान केन्द्रीय सदस्य हुन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते भएको थियो। नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।