दसैंलगायत चाडपर्वमा नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएममार्फत १०० रुपैयाँका नयाँ नोट वितरण गर्न थालेका छन्।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वमा सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।
उनका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला र सफा नोट वितरण भइरहेको छ।
पौडेलले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्व लक्षित नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास भइरहेको पनि बताए।
गत भदौ ३१ गतेसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ। दसैंका बेला उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।







प्रतिक्रिया