रुसको तातारस्तानमा युक्रेनी ड्रोन आक्रमण, १३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुसको मध्यभागमा पर्ने ऊर्जासम्पन्न तातारस्तान क्षेत्रको निज्नेकाम्स्क सहरमा युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

सोमबार भएको आक्रमणमा एक बालक र मध्य एसियाली देशका नागरिकसहित १३ जनाको मृत्यु भएको हो। घटनामा ४८ जना घाइते भएका छन्।

रुस–युक्रेन सीमाबाट करिब एक हजार किलोमिटर टाढा रहेको तातारस्तानमा ठूला तेल प्रशोधन केन्द्र तथा औद्योगिक संरचना छन्। पछिल्लो समय दुवै पक्षले एकअर्काका ऊर्जा तथा पूर्वाधारलाई लक्षित गर्दै लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएका छन्।

निज्नेकाम्स्कका मेयर रादमिर बेल्यायेभका अनुसार आक्रमणबाट औद्योगिक तथा नागरिक पूर्वाधारमा क्षति पुगेको छ। रुसी अनुसन्धानकर्ताहरूले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिँदै अनुसन्धान थालेका छन्।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले किभले जानाजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएकी छन्।

यता, युक्रेनी सेनाले रातभरको आक्रमणमा रुसको तेल रिफाइनरीलाई निशाना बनाइएको र त्यहाँ आगलागी भएको पुष्टि गरेको छ। युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथि लगातार आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रुसमा इन्धन आपूर्ति र तेल प्रशोधन क्षमतामा असर परेको युक्रेनको दाबी छ।

युक्रेनले तातारस्तानपछि ट्युमेन क्षेत्रमा रहेको रुसी पेट्रोकेमिकल प्लान्टमा समेत विशेष ड्रोन टोलीमार्फत आक्रमण गरेको जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पूर्वाधारमाथिका आक्रमणको उद्देश्य राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न वार्ताको टेबुलमा ल्याउनु रहेको बताएका छन्।

रुस र युक्रेनबीच लामो समयदेखि जारी युद्धमा पछिल्लो समय दुवै पक्षले ड्रोन तथा लामो दूरीका क्षेप्यास्त्रमार्फत एकअर्काका सैन्य, ऊर्जा र औद्योगिक संरचनालाई निशाना बनाउँदै आएका छन्।