सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर पुल नजिक यात्रु सवार एक कार बसको ठक्करपछि सुनकोसी नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायात प्रालिको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो।
प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी राजमार्गमा रोकिएको कारलाई बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो। बसमा सवार यात्रुहरूले पनि यही विवरण बताएका छन्।
कारमा तीन जना सवार रहेको अनुमान गरिएको छ। उनीहरूमध्ये एक जना निर्माण व्यवसायी, एक जना अपरेटर तथा अर्का एक जना रहेको प्रारम्भिक जानकारी छ। घटनास्थलमा रहेका गोलन्जोर गाउँपालिका–१ का वडा अध्यक्ष सोमप्रसाद बरालका अनुसार कारमा सिन्धुपाल्चोक घर भई हाल मध्यपहाडी लोकमार्गका ठेकेदार दिलकुमार तामाङसहितका व्यक्ति सवार थिए।
दुर्घटनापछि कार करिब ५० मिटर तल सुनकोसी नदीमा डुबेको बताइएको छ। कारमा सवार व्यक्तिको अवस्था तथा यकिन संख्या भने अझै पुष्टि हुन सकेको छैन।
घटनास्थलमा नेपाल प्रहरी, खुर्कोटस्थित सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयवासी संयुक्त रूपमा उद्धार तथा खोजी कार्यमा खटिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







प्रतिक्रिया