नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जारी निर्वाचनअन्तर्गत एसोसिएट्स समूहबाट विराटनगरका उद्योगी तथा एमएम ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक सुयशराज प्याकुरेल विजयी भएका छन्। उनले एसोसिएट्सतर्फ विराटनगरको प्रतिनिधित्व गर्दै सफलता हासिल गरेका हुन्।
बेलारुसियन नेशनल टेक्निकल युनिभर्सिटीबाट इन्जिनियरिङ (मेसिन बिल्डिङ, इकोनोमिक्स एन्ड म्यानेजमेन्ट) विषयमा स्नातकोत्तर गरेका प्याकुरेल उत्पादन क्षेत्रसँगै नीतिगत तहमा पनि सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। उनी सन् २०२१–२०२३ मा मोरङ उद्योग संगठनका अध्यक्षसमेत रहेका थिए। साथै, नेपाल सरकारअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र औद्योगिक प्रवर्द्धन बोर्डका पूर्व सदस्यका रूपमा पनि उनले जिम्मेवारी सम्हालेका छन्।

सानो स्तरको प्लास्टिक उद्योगबाट व्यवसाय सुरु गरेका प्याकुरेलले आफ्नो नेतृत्वमा एमएम ग्रुपलाई नेपालकै प्रमुख PET प्याकेजिङ उत्पादक कम्पनीका रूपमा स्थापित गरेका छन्। कम्पनीले कोका-कोला, पेप्सिको, युनिलिभर र डाबर नेपालजस्ता बहुराष्ट्रिय कम्पनीहरूलाई आपूर्ति गर्दै बजारमा सशक्त उपस्थिति बनाएको छ।
उद्योगसँगै लगानी क्षेत्रमा पनि सक्रिय प्याकुरेल विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्क (BAIN) का संयोजक हुन्। साथै, नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत विराटनगर किंग्सका सह-स्वामीका रूपमा समेत उनी परिचित छन्।
एसोसिएट्सतर्फ अन्य विजयी उम्मेदवारहरूमा सचिन ढकाल (१३१८), हेमन्त गोल्छा (१२०२), अम्बिका प्रसाद पौडेल (११८३), उज्ज्वलकुमार श्रेष्ठ (११५६), शक्तिकुमार बेगानी (११४२), ऋषि अग्रवाल (११२२), सुशील थापा (१०९४), रामशरण भण्डारी (१०४३) र राजेशकुमार अग्रवाल (१०८२) रहेका छन्।

त्यस्तै, बाबुकाजी कार्की (१००६), दिवश न्यौपाने (९९१), कृष्णलाल महर्जन (९७४), प्रियराज रेग्मी (९५४), ईश्वरबहादुर जीसी (९४९), सुरज उप्रेती (९०७) र बटु लामिछाने (८६०) पनि विजयी भएका छन्।
महासंघको निर्वाचनमा ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा थिए। विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्।







प्रतिक्रिया