काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाहरू राखिएका होल्डिङ सेन्टरहरूको स्थलगत अवलोकन गर्ने निर्णय गरेको छ।
समितिको बैठकले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल अस्थायी आश्रय केन्द्रहरूमा बसिरहेका नागरिकहरूको मानव अधिकार अवस्थाबारे यथार्थ जानकारी लिन स्थलगत अध्ययन आवश्यक ठहर गरेको हो।
समितिका अनुसार अवलोकनको मुख्य उद्देश्य होल्डिङ सेन्टरमा बसोबास गरिरहेका नागरिकको आवास, स्वास्थ्य, शिक्षा, सुरक्षा तथा अन्य आधारभूत अधिकारको अवस्था मूल्याङ्कन गर्नु हो।
यस विषयमा गत सोमबार बसेको बैठकमा सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाहरूको अवस्थाबारे प्रत्यक्ष अध्ययन गर्नुपर्ने प्रस्ताव राखेका थिए। सोही प्रस्तावका आधारमा समितिले स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो।
सरकारद्वारा सञ्चालन गरिएको बस्ती व्यवस्थापन तथा स्थानान्तरण अभियानपछि विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा नागरिक बसिरहेका छन्। समितिको अवलोकनपछि प्राप्त निष्कर्षका आधारमा आवश्यक सिफारिसहरू गरिने जनाइएको छ।







प्रतिक्रिया