सरकारको कार्यशैलीप्रति सीके राउतको आलोचना, ‘जनतालाई विस्थापित गरेर विकास सम्भव हुँदैन’ चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न चेतावनी दिएका छन्।

सरकार बनेको सय दिन पनि पूरा नहुँदै राउतले सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणी गर्दै सरकारको ‘विकास’ सम्बन्धी अवधारणा र नागरिकप्रतिको व्यवहारमाथि प्रश्न उठाएका हुन्।

उनका अनुसार विकास केवल चिल्ला सडक र फुटपाथ निर्माणमा सीमित नभई प्रत्येक नागरिकलाई बसोबास, सुरक्षित आवास र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नु पनि हो। उनले राजधानीमा गरिब, मजदुर तथा सीमान्तकृत समुदायलाई हटाएर गरिने विकासलाई ‘नवधनाढ्यहरूको विलासिता’ को संज्ञा दिएका छन्।

राज्यको वास्तविक परिभाषा जनता भएको उल्लेख गर्दै राउतले सरकार जनताको सेवा गर्न नियुक्त ‘तलबभोगी संरचना’ मात्र भएको टिप्पणी गरेका छन्। उनले राज्य संयन्त्रले आफ्नो सीमा र जिम्मेवारी बिर्सन नहुने भन्दै शक्ति र सत्ताको अहंकार दीर्घकालीन रूपमा खतरनाक हुने चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल, सत्ता वा शक्ति संरचनाको भरमा आफूलाई जनताभन्दा माथि ठान्नु गलत हुने उल्लेख गर्दै उनले इतिहासले त्यस्ता प्रवृत्तिलाई स्वीकार नगर्ने बताएका छन्।

राउतले निर्णय गर्न कठिन भए ‘गोल्डेन रुल’ अपनाउन सुझाव दिँदै कुनै पनि नीति बनाउँदा पीडितको स्थानमा आफ्ना परिवारका बालबालिकालाई राखेर सोच्न आग्रह गरेका छन्।

उनले राज्यको व्यवहारले भविष्य पुस्ताको दृष्टिकोण निर्धारण गर्ने भन्दै सरकारका पछिल्ला कदमले दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्। साथै, नागरिकलाई संरक्षण गर्नुको सट्टा घरबारविहीन बनाउनु विधिको शासनविपरीत हुने उनको निष्कर्ष छ।