प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौंका नदीकिनारमा बसोबास गर्ने सुकुम्बासी बस्ती व्यवस्थापनलाई मानवीय दृष्टिकोणबाट समाधान गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै हरेक वर्ष बाढीका कारण हजारौँ नागरिक जोखिममा पर्नु पर्ने अवस्था अन्त्य गर्न अब ठोस कदम आवश्यक भएको उल्लेख गरेका छन्।
बालेनले नदीकिनारमा रहेका बस्तीहरूलाई बल प्रयोग नगरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार यो कदमले काठमाडौं उपत्यकाको ढल निकास प्रणाली सुधार गर्न समेत मद्दत गर्नेछ।
उनले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर व्यवस्थापन गर्ने नीति अघि बढाइने पनि बताएका छन्। साथै वास्तविक भूमिहीन नागरिकलाई प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने सरकारको योजना रहेको उनले उल्लेख गरेका छन्।
“अब पनि ठूलो दुर्घटना कुर्नु उचित होइन,” भन्दै बालेनले वर्षौंदेखि दोहोरिँदै आएको बाढी र डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
सरकारले सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेकै बेला आएको यो अभिव्यक्तिले काठमाडौंको शहरी व्यवस्थापन र सामाजिक पुनःस्थापनासम्बन्धी बहस फेरि चर्किएको छ।









प्रतिक्रिया