शरीरमा आइरनको कमी भएमा थकान, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने र हात–खुट्टा चिसो हुनेजस्ता समस्या देखिन सक्ने स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्। आइरन मानव शरीरका लागि आवश्यक पोषक तत्त्व हो, जसले हेमोग्लोबिन निर्माण र अक्सिजन प्रवाहमा महत्वपूर्ण भूमिका खेल्छ।
रगत तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झा का अनुसार आइरनको कमी हुँदा रातो रक्तकोषिकाको उत्पादन प्रभावित हुन्छ, जसले शरीरमा कमजोरी र लगातार थकान ल्याउन सक्छ।
विशेषज्ञहरूका अनुसार आइरनको कमी हुन नदिन खानपानमा विशेष ध्यान दिन आवश्यक छ। रातो मासु, कलेजो, हरियो सागपात, दाल, चना, सोयाबिन, चुकन्दर, अनार, खजुर, किसमिस र बदामजस्ता खाद्य पदार्थले आइरनको मात्रा बढाउन मद्दत गर्छन्।
त्यस्तै, आइरनको राम्रो अवशोषणका लागि भिटामिन ‘सी’ युक्त फलफूल जस्तै कागती, सुन्तला, अमला र स्ट्रबेरी सेवन गर्न सुझाव दिइएको छ।
खाना खाएपछि तुरुन्तै चिया वा कफी नपिउन पनि चिकित्सकहरूले सुझाव दिएका छन्, किनकि यसले शरीरमा आइरन अवशोषणमा बाधा पुर्याउन सक्छ। साथै, आइरन र क्याल्सियमयुक्त खानेकुरा एकै पटक नखानु राम्रो मानिन्छ।
विशेषज्ञहरूले खाना पकाउँदा फलामका भाँडाको प्रयोग गर्न सकिने र आवश्यक परे चिकित्सकको सल्लाहमा आइरन सप्लीमेन्ट लिनुपर्ने बताएका छन्। विशेषगरी गर्भवती महिला, किशोरी र रक्तअल्पता भएका व्यक्तिहरूले बढी ध्यान दिनुपर्ने सुझाव दिइएको छ।







प्रतिक्रिया