कृष्ण मन्दिर परिसरमा बुधबार साँझ भएको क्रूर हत्याले पाटन क्षेत्र स्तब्ध बनेको छ। सामान्य फोन विवादबाट सुरु भएको झगडाले दुई युवाको ज्यान लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सञ्जीव नेपाली ले झापा घर भई हाल ललितपुर बस्दै आएका दाजुभाइ सुमित नेम्बाङ र सृजन नेम्बाङ माथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका दुवैलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुर का प्रमुख होविन्द्र बोगटी का अनुसार घटना भएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानले गलत नम्बरमा गरिएको फोनबाट सुरु भएको विवादले उग्र रूप लिएको देखाएको छ।
घटनाका क्रममा सुमितले झुक्किएर गरेको फोन सञ्जीव नेपालीकहाँ पुगेपछि भनाभन सुरु भएको थियो। त्यसपछि दुवैबीच भेट भएर झगडा बढ्दा आवेगमा आएर सञ्जीवले चक्कु प्रहार गरेका थिए। दाइलाई बचाउन पुगेका भाइ सृजनमाथि पनि उनले आक्रमण गरेका थिए।
घटनापछि फरार रहेका सञ्जीवलाई प्रहरीले केही समयमै पक्राउ गरेको छ। उनीसँगै रहेका गगन सुनार लाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार क्षणिक आवेग र उत्तेजनाले भएको यो घटनामा मृतकका परिवारले कर्तव्य ज्यान कसुरमा जाहेरी दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया