काठमाडौँमा डिशहोमको कर्मचारी भएको बहाना बनाई ग्राहकलाई ठगी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीले धादिङकी २२ वर्षीया आरती सिम्खडा, दोलखाका विष्णु कार्की र रामेछापका असल सिंह तामाङलाई टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
उनीहरूले ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको निःशुल्क बोनस’ भन्ने आकर्षक अफर देखाएर ग्राहकलाई झुक्याउने गरेका थिए। ग्राहकको विश्वास जित्न नक्कली रसिद, छाप र परिचयपत्र प्रयोग गर्दै रकम इसेवा, खल्ती र बैंक खातामा जम्मा गराउने गरेको खुलेको छ।
अनुसन्धानले देखाएको छ कि मुख्य योजनाकार आरती सिम्खडा यसअघि डिशहोमसँग सम्बन्धित सेवामा काम गर्थिन् र त्यहीँबाट प्राप्त ग्राहकको विवरण प्रयोग गरी ठगी सञ्जाल बनाएकी थिइन्। हालसम्म ३६४ भन्दा बढी व्यक्ति ठगीमा परेको र करिब २९ लाख रुपैयाँ असुलिएको अनुमान गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राख्दै सर्वसाधारणलाई यस्ता भ्रामक अफरबाट सावधान रहन र आधिकारिक माध्यमबाट मात्र सेवा लिन आग्रह गरेको छ।







प्रतिक्रिया