महेश बस्नेत पक्राउको बाटो खुला, उच्च अदालतको आदेशपछि कानुनी प्रक्रिया अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका सचिव महेश बस्नेत विरुद्ध पक्राउ प्रक्रिया अगाडि बढाउने कानुनी बाटो खुलेको छ। उच्च अदालत पाटन ले मंगलबार रिट निवेदनमाथि सुनुवाइ गर्दै पक्राउ अनुमतिका लागि मार्ग प्रशस्त गरेको हो।

न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद अधिकारी को संयुक्त इजलासले कारबाही प्रक्रिया अघि बढिरहेको अवस्थामा उत्प्रेषणयुक्त परमादेश जारी गरिरहनु नपर्ने ठहर गर्दै जिल्ला अदालत काठमाडौं लाई पक्राउ अनुमतिका लागि बाटो खुला गरिदिएको हो।

पीडित महिलाले २०८० चैत ७ गते बस्नेतविरुद्ध जबरजस्ती करणी, भ्रूण हत्या र डाँकाचोरीको आरोपमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरी हुलाकमार्फत दर्ता भए पनि त्यसबेला प्रहरीले अनुसन्धान अघि नबढाई तामेलीमा राखेको थियो।

यसअघि पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ले तामेलीमा राख्ने निर्णय गरे पनि अदालतले त्यसलाई अन्तिम निर्णय नमान्दै थप प्रमाणका आधारमा मुद्दा अघि बढाउन सकिने स्पष्ट पारेको थियो।

त्यही आधारमा पीडितले पुनः पूरक जाहेरी दर्ता गराएपछि पनि मुद्दा अघि नबढेको भन्दै पुनः अदालत गुहारेकी थिइन्। पछिल्लो आदेशसँगै अब उक्त मुद्दामा पक्राउ अनुमति लिन सक्ने अवस्था बनेको छ।

यसअघि प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयले प्रक्रिया अगाडि नबढाएको भए पनि अब अदालतको आदेशपछि बस्नेतसहित आरोपितविरुद्ध कानुनी कारबाही अघि बढ्ने अपेक्षा गरिएको छ।