इरानले ४ हजार किलोमिटर टाढा अमेरिकी–बेलायती सैन्य अड्डामा मिसाइल प्रहार गर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इरानले अमेरिका र इसराइलसँग जारी युद्धमा पहिलो पटक लामो दूरीको मिसाइल प्रहार गरेको छ। शनिबार हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिका-बेलायतको संयुक्त सैन्य अड्डालाई निशाना बनाइएको थियो। यो अड्डा तेहरानबाट करिब ४ हजार किलोमिटर टाढा रहेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, इरानले तीन साताको युद्धमा पहिलो पटक यति लामो दूरीमा प्रहार गरेको हो। यसबाट इरानले युरोपेली मुलुकहरूमा पनि आक्रमण गर्न सक्ने क्षमता विकास गरेको देखिन्छ।

पहिले इरानका अधिकांश मिसाइलको मार क्षमता ३०० किलोमिटरदेखि २ हजार किलोमिटर मात्र थियो, तर यसपटक प्रयोग भएको मिसाइलले द्वन्द्वको दायरा फराकिलो बनाएको छ। इसराइली सेनाका प्रमुख इयाल जमिरले यस प्रहारले इसराइल र खाडी मुलुकका अमेरिकी सैन्य अड्डामा जोखिम बढाएको बताएका छन्।

इजरायलको दक्षिणी सहर डिमोना र अरादमा पनि मिसाइल आक्रमण हुँदा दर्जनौं घाइते भएका छन्। डिमोना इसराइलको गोप्य आणविक रियाक्टर नजिकैको क्षेत्र हो।

अमेरिकाले भने अब इरानमा कुनै बाँकी लक्ष्य नरहेको दाबी गर्दै आक्रमण कम गर्ने विषयमा विचार भइरहेको जनाएको छ। विश्लेषकहरूले यस घटनाले युद्ध तत्काल समाप्त नहुने संकेत गरेको बताएका छन्।