पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वसचिवसहित २१ जनाविरुद्ध ४६ करोडको मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसहितका उच्च अधिकारीहरू प्रतिवादी बनाइएका छन्। अख्तियारले उनीहरूविरुद्ध ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरेको छ।

अख्तियारका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्श सेवा खरिद प्रक्रियामा अनियमितता गरी ठूलो रकम भ्रष्टाचार गरिएको हो।

मुद्दामा प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, आयोजना निर्देशक बाबुराम पौडेल, उपनिर्देशक प्रवीण न्यौपाने, प्रबन्धक चाँदमाला श्रेष्ठ, आयोजना प्रमुख विनेश मुनकर्मी, लेखा अधिकृत नरेन्द्रराज सैंजु लगायत अन्य कर्मचारीहरू पनि समेटिएका छन्।

त्यस्तै परामर्शदाता कम्पनी स्लाट जेभीसँग सम्बन्धित यमबहादुर भण्डारी, उद्धव चौलागाई, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी तथा निर्माण कम्पनी चिनियाँ सीएएमसी र त्यसका प्रतिनिधिहरू वाङ बो र याङ झियाङलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले सबै प्रतिवादीको मिलेमतोमा परामर्श सेवा खरिद प्रक्रियामा अनियमितता गर्दै राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याइएको ठहर गरेको छ।

यो पोखरा विमानस्थलसँग सम्बन्धित दोस्रो भ्रष्टाचार मुद्दा हो। यसअघि दायर भएको मुद्दा अझै विचाराधीन अवस्थामा छ भने मुख्य प्रतिवादीमध्ये केही अन्य मुद्दामा पनि अनुसन्धानको दायरामा रहेका छन्।