राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिकको जनादेशसहित सरकार गठनको प्रक्रियामा अघि बढ्दै गर्दा अघिल्ला सरकारबाट राजनीतिक नियुक्ति लिएकाहरूलाई मार्ग प्रशस्त गर्न राजीनामा दिन आग्रह गरेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार विगतमा योग्यता र क्षमताभन्दा पनि पहुँच तथा राजनीतिक प्रभावका आधारमा नियुक्ति दिइएको भन्दै त्यसप्रति नागरिकमा असन्तुष्टि रहेको निष्कर्ष पार्टीले निकालेको छ।
उनले भने, ‘अहिलेसम्म औपचारिक रूपमा राजीनामा मागिएको छैन, किनकि सरकार गठन प्रक्रिया अझै बाँकी छ। तर पुराना नियुक्तिहरूलाई निरन्तरता दिँदा नयाँ जनादेशको भावना विपरीत हुन सक्छ, त्यसैले सम्बन्धित व्यक्तिहरूले स्वस्फूर्त रूपमा मार्ग प्रशस्त गरून् भन्ने हाम्रो अपेक्षा हो।’
रास्वपाका अनुसार विगतमा भएका राजनीतिक नियुक्तिको संख्या करिब एक हजार एक सय हाराहारी रहेको अनौपचारिक जानकारी प्राप्त भएको छ। ती पदहरू खाली भएमा नयाँ सरकारले योग्य, क्षमतावान् र विषयविज्ञ व्यक्तिहरूलाई अवसर दिन सक्ने विश्वास पार्टीको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ। पार्टीका तर्फबाट प्रस्तावित प्रधानमन्त्री बालेन शाहले चैत १३ गते पद तथा गोपनीयताको शपथ लिने तयारी भइरहेको छ।
राष्ट्रपतिबाट संविधानको प्रावधानअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ।









प्रतिक्रिया