आज दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। शुक्रबारदेखि देशभरका सिनेमा हलमा ‘कुमारी’ र ‘रमिताको पिरती’ रिलिज भएका हुन्।
दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘कुमारी’ मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। प्रेम सम्बन्धमा आउने उतार–चढाव र अवरोधको कथामा आधारित यो फिल्मको झल्को ट्रेलरबाट देख्न सकिन्छ।
फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको यस फिल्ममा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहे पनि फिल्मलाई बलिउड फिल्म ‘सैयारा’ सँग तुलना गर्दै ‘कपी’को आरोप लागिरहेको छ। तर निर्देशक दिनेश राउतले यस्तो टिप्पणीलाई सतही भन्दै अस्वीकार गरेका छन्। उनका अनुसार फिल्मको कथा पूर्ण रूपमा फरक छ र फिल्म हेरेपछि दर्शकको भ्रम हट्नेछ।
त्यस्तै, आजै रिलिज भएको अर्को फिल्म ‘रमिताको पिरती’ सुदेप्ता निर्देशित डेब्यू फिल्म हो। यस फिल्मकी कार्यकारी निर्माता अभिनेत्री आना शर्मा हुन्। फिल्ममा आना शर्मासँगै धिरज मगर, विनय श्रेष्ठ र समीर श्रेष्ठ मुख्य भूमिकामा छन्।
युवा प्रेमकथामा आधारित यस फिल्ममा पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामालगायत कलाकारहरूको अभिनय रहेको छ। यही फिल्ममार्फत गायक समीरले पनि अभिनयमा डेब्यू गरेका छन्। फिल्म प्रेममा धोका पाएपछि एक युवतीले आफैँसँग गर्ने संघर्ष र आत्मसंघर्षको कथामा केन्द्रित छ।







प्रतिक्रिया