‘धुरन्धर २’ को टिजर सार्वजनिक, रणवीर सिंहको आक्रामक अवतारमा फ्यान उत्साहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन् २०२५ कै सबैभन्दा हिट फिल्म बनेको ‘धुरन्धर’ को दोस्रो भाग ‘धुरन्धर : द रिभेन्ज’ को टिजर सार्वजनिक भएको छ । आदित्य धर निर्देशित पहिलो भागले बक्सअफिसमा तहल्का मच्चाएपछि यसको सिक्वेलप्रति दर्शकको अपेक्षा उच्च थियो, जुन टिजर सार्वजनिक भएसँगै झनै बढेको देखिन्छ ।

करिब १ मिनेट १२ सेकेन्डको टिजरमा रणवीर सिंह भारतीय जासूस हमजा अली मजारीको भूमिकामा झनै आक्रामक र खतरनाक अवतारमा देखिएका छन् । टिजरमा हमजाको विगतदेखि पाकिस्तानको ‘ल्यारी’ क्षेत्रमा उनको प्रभाव विस्तारसम्मका दृश्य समेटिएका छन् । यद्यपि, टिजरमा देखाइएका धेरै दृश्यहरू पहिलो फिल्मको अन्त्यमा देखिइसकेका दृश्यसँग मिल्दोजुल्दो छन् ।

पहिलो भागमा हमजा पाकिस्तानमा ‘बलुच’को पहिचान बनाएर अन्डरवर्ल्डका डनहरूबीच बस्दै भारतका लागि गोप्य सूचना पठाइरहेका देखाइएको थियो । त्यही क्रममा भएको एक सानो चूकका कारण मुम्बईमा २६/११ को आतंकवादी हमला भएको प्रसङ्ग फिल्ममा प्रस्तुत गरिएको थियो ।

दोस्रो भागमा हमजाको ज्यानमाथिको खतरा, देशप्रतिको निष्ठा र पाकिस्तानका ग्याङ्स्टरहरूलाई समाप्त गर्ने मिसन मुख्य कथावस्तु रहनेछ । फिल्मले विशेषगरी पाकिस्तानका ग्याङ्स्टर रहमान डकैत, ‘ल्यारी’ क्षेत्रको राजनीति र ग्याङवारलाई केन्द्रमा राख्नेछ ।

यसअघि मंगलबार फिल्मको पहिलो लुक्स पोस्टर सार्वजनिक गरिएको थियो, जसमा रणवीर सिंह गम्भीर र खतरनाक अवतारमा देखिएका छन् । रणवीरले उक्त पोस्टर इन्स्टाग्राममार्फत सेयर गर्दै दर्शकको उत्साह थपेका हुन् ।

पहिलो फिल्म केवल हिन्दी भाषामा रिलिज भएको थियो भने ‘धुरन्धर : द रिभेन्ज’ हिन्दीका साथै तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा समेत एकैसाथ रिलिज हुने तयारीमा छ । रणवीरले पोस्टर पाँचै भाषामा सार्वजनिक गर्दै दक्षिण भारतीय दर्शकलाई पनि आकर्षित गरेका छन् ।

बहुप्रतिक्षित यो फिल्म १९ मार्च २०२६ मा सिनेमाघरमा प्रदर्शनमा आउनेछ ।