भारत–अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता, भारतीय उत्पादनमा अमेरिकी ट्यारिफ १८ प्रतिशतमा झारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत र संयुक्त राज्य अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । सम्झौताअनुसार अमेरिकाले भारतीय उत्पादनहरूमा लाग्दै आएको ‘रेसिप्रोकल ट्यारिफ’ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताका क्रममा यो निर्णय सार्वजनिक गरिएको हो । राष्ट्रपति ट्रम्पले ‘मेड इन इन्डिया’ उत्पादनमा आयात शुल्क घटाएर १८ प्रतिशत कायम गर्ने घोषणा गरेका छन् ।

यसको बदलामा भारतले पनि अमेरिकी उत्पादनहरूमा लाग्ने कर तथा अन्य व्यापारिक अवरोधहरू क्रमशः शून्यतर्फ लैजाने प्रतिबद्धता जनाएको छ । साथै भारतले अमेरिका बाट ऊर्जा, प्रविधि, कृषि, कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका सामग्री खरिद गर्ने सहमति जनाएको छ ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले सम्झौताले ‘मेक इन इन्डिया’ अभियानलाई थप बलियो बनाउने र दुवै देशमा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने बताएका छन् । गृहमन्त्री अमित शाहले यसलाई भारत–अमेरिका सम्बन्धमा ऐतिहासिक दिनको संज्ञा दिएका छन् ।

यद्यपि विपक्षी दल कांग्रेसले भने सम्झौताप्रति आलोचना गरेको छ । कांग्रेस नेता जयराम रमेशले वासिङ्टनको दबाबमा आएर भारतले यो सम्झौता गरेको आरोप लगाएका छन् ।