इरानसँग वार्ता जारी, सहमति नभए ‘नराम्रो अवस्था’ आउन सक्ने ट्रम्पको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका प्रतिनिधि इरान सरकारसँग वार्तामा रहेको बताएका छन् । वार्ताबाट सहमति हुने आशा व्यक्त गर्दै उनले निष्कर्ष सकारात्मक नआएमा गम्भीर अवस्था सिर्जना हुन सक्ने चेतावनी पनि दिएका छन् ।

ट्रम्पले भने, ‘हामी अहिले इरानसँग वार्ता गरिरहेका छौँ र आशा छ यसको परिणाम सकारात्मक हुनेछ । यदि त्यसो भएन भने केही नराम्रो हुन सक्छ ।’

उनको यो अभिव्यक्ति इरानका विदेशमन्त्री अब्बास अराघ्ची र ट्रम्पका विशेष दूत स्टिभ विट्कफबीच केही दिनभित्र टर्कीको इस्तानबुलमा प्रत्यक्ष भेटवार्ता हुन सक्ने अनुमान भइरहेका बेला आएको हो ।

रोयटर्सका अनुसार स्टिभ विट्कफ हाल इजरायलमा रहेका छन् र उनले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गरेका छन् । यसले इजरायलमा भएको उक्त भेटवार्ता पनि इरान–अमेरिका वार्तासँग सम्बन्धित हुन सक्ने सम्भावना बढाएको छ ।

अमेरिका र इरानबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको सन्दर्भमा सम्भावित वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।