मन्त्रिपरिषद् रास्वपाको भन्ने प्रचार गलत भाष्य : प्रधानमन्त्री सुशीला कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भनेर प्रचार गरिनु गलत भएको बताउँदै आपत्ति जनाएकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद् रास्वपाको हो भन्ने आरोप निराधार रहेको स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले मन्त्री पद छाडेकामध्ये जम्मा दुई जना मात्रै रास्वपामा गएको बताउँदै सबै मन्त्रीहरू सो पार्टीमा गएको भन्ने दाबी असत्य रहेको भनिन् । ‘रास्वपामा दुई जना गए । कुलमानजीको आफ्नै पार्टी छ, महावीर पुनको त पार्टी नै छैन । सबै मान्छे रास्वपामा गएको त होइन,’ उनले भनिन् ।

उनले मन्त्री पद छाडेपछि ती व्यक्तिहरूसँग अहिले कुनै सम्पर्क नरहेको समेत स्पष्ट पारिन् । रास्वपाको मन्त्रिपरिषद् भनेर गरिएको प्रचार गलत भाष्य भएको दोहोर्‍याउँदै उनले भनिन्, ‘हामीहरू कसैसँग सम्पर्कमा पनि छैनौँ । यो गलत भाष्य हो ।’

प्रधानमन्त्री कार्कीका अनुसार मन्त्रीहरूले पार्टी परिवर्तन गर्ने वा नजाने भन्ने निर्णय व्यक्तिगत अधिकारको विषय हो । ‘हामीले सबैलाई सोध्यौँ, कोही जानुहुन्छ कि भनेर । नजानेहरू बसे,’ उनले भनिन् ।

उनले केही मन्त्रीहरू ‘इन्ट्रेस्ट’ र ‘जेन–जीको प्रेसर’ का कारण आए–गए पनि त्यो प्रक्रिया औपचारिक रूपमा भएको र अहिले उनीहरूसँग कुनै समन्वय नरहेको पनि स्पष्ट पारिन् ।