नेपालमा पहिलोपटक सालक सम्मेलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा पहिलोपटक सालक सम्मेलन आयोजना हुने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा माघ २६ गते चितवनको माडीमा सालक सम्मेलन हुन लागेको हो । डिभिजन वन कार्यालयको संयोजनमा हुने सम्मेलनमा बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न जिल्लाका सामुदायिक वनका प्रतिनिधि तथा संरक्षणकर्मीहरूको सहभागिता रहनेछ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, चुनौती र भावी कार्यदिशाबारे छलफल गरिनेछ । संरक्षणमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधि, विज्ञसहित २०० भन्दा बढीको सहभागिता रहने सम्मेलनबाट ‘माडी घोषणा पत्र’ जारी गरिनेछ ।

सालक किसानको साथीका रूपमा समेत परिचित भएकाले यसको संरक्षण अपरिहार्य रहेको आचार्यले बताए । राष्ट्रिय निकुञ्ज ऐन २०२९ अनुसार सालक संरक्षित वन्यजन्तु भए पनि अहिले लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले वन्यजन्तु संरक्षणमा प्रायः ठूला जनावरलाई प्राथमिकता दिइने भए पनि साना वन्यजन्तु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम बनाएर काम अघि बढाइसकेको जानकारी दिँदै आगामी वर्षदेखि नियमित रूपमा संरक्षण कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रदेशका सबै डिभिजन वन क्षेत्रमा सालक पाइने उल्लेख गर्दै यसको संरक्षणले वातावरणीय सन्तुलनमा सकारात्मक योगदान पुग्ने बरालको भनाइ छ । स्थानीय समुदाय र सामुदायिक वन उपभोक्ता समितिसँग सहकार्य गरी सालकको बासस्थान र आहार संरक्षणलाई अभियानका रूपमा अघि बढाइने तथा सालक मार्नेलाई कानुनअनुसार कडा कारबाही गरिने पनि उनले स्पष्ट पारे ।