नेताहरूको नाम प्रयोग गरी फन्ड उठाएको आरोपमा अमेरिकी नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम प्रयोग गरी रकम उठाउने उद्देश्यले गतिविधि गरेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन्। अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

अध्यागमन विभागका अनुसार ती व्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा ‘फन्ड’ संकलन गर्ने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम र तस्बिर राखी ‘आवर डाइनामिक टिम’ शीर्षक प्रयोग गरेका थिए। सो सूचीमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायत १३ जनाको नाम राखिएको पाइएको छ।

यसका साथै ‘लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम’ शीर्षकमा अन्य प्रतिष्ठित नेपाली व्यक्तिहरूको नामसमेत प्रयोग गरिएको भेटिएको अध्यागमन विभागले जनाएको छ। ‘निकलेज इडीयू एनपी’ नामक वेबसाइटमार्फत यस्तो प्रचार गरिएको विभागका प्रवक्ता टिकाराम ढकालले जानकारी दिए। उक्त वेबसाइटमा कोरियन भाषा, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिजलगायतका विषय अध्यापन गराइने उल्लेख गरिएको थियो।

तर सो कलेजलाई त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको दाबी गरिए पनि त्यसको आधिकारिक प्रमाणपत्र पेस गर्न नसकेको प्रवक्ता ढकालले बताए।

पक्राउ परेका अमेरिकी नागरिक सन् २०१४ देखि नेपाल आउन थालेको र पछिल्लो १२ वर्षको अवधिमा ५० भन्दा बढी पटक नेपाल आएको तथ्य खुलेको छ। उनी पर्यटक, वर्किङ र व्यवसायिक भिसामा नेपाल आउने गरेको देखिएको छ।

व्यवसायिक भिसा लिनका लागि उनले नेपालमा ‘कमसिड नेपाल प्रालि’ नामक कम्पनी दर्ता गरेको पाइएको छ। साथै, उनी नेपालमा चर्च प्लान्टिङलगायतका गतिविधिमा संलग्न रहेको विभिन्न प्रमाणहरूले पुष्टि गरेको अध्यागमन स्रोतले जनाएको छ।