काठमाडौँ महानगरले ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि घरदैलोमै स्वास्थ्य सेवा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि ७० वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण सुरु गरेको छ।

कार्यवाहक मेयर सुनिता डंगोलले जेष्ठ नागरिकका लागि स्वास्थ्य सेवा अब अस्पतालमा मात्र सीमित नरहने बताएकी छन्। उनका अनुसार आजबाट जटिल अवस्थामा रहेका बिरामीलाई अस्पतालसम्म लैजान महानगरपालिकाले सहजीकरणसमेत गर्नेछ।

वक्तव्य जारी गर्दै डंगोलले भनेकी छन्, ‘अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन। ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा काठमाडौँ महानगरपालिकाले आजबाट सुरु गर्दैछ। स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवर्द्धन, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण—सबै सेवा घरदैलोमै उपलब्ध हुनेछ।’

‘असक्त हुँदा महानगरपालिकाको सेवा, जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा’ भन्ने नारासहित यो अभियान सुरु गरिएको डंगोलले बताइन्।