चर्चित भारतीय गायक अरिजित सिंहले प्लेब्याक गायनबाट सन्यास लिएको दाबी सामाजिक सञ्जालमा फैलिएको छ। मंगलबार साँझ अरिजितको नाममा रहेको सामाजिक सञ्जाल पोस्ट उद्धृत गर्दै केही अनलाइन प्लेटफर्महरूले उनी अब फिल्मका लागि प्लेब्याक गायन नगर्ने उल्लेख गरेका छन्।
उक्त पोस्टमा नयाँ वर्षको शुभकामना दिँदै ‘अब प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम नलिने’ भनिएको दाबी गरिएको छ। तर यस विषयमा अरिजित सिंहको आधिकारिक वेबसाइट, प्रमाणित सामाजिक सञ्जाल खाता वा प्रमुख भारतीय सञ्चारमाध्यमबाट हालसम्म पुष्टि आएको छैन।
दाबीपछि सामाजिक सञ्जालमा उनका प्रशंसकहरू आश्चर्य र भावुक प्रतिक्रिया जनाइरहेका छन्। यद्यपि, अपुष्ट सूचनालाई तथ्यका रूपमा लिनु उपयुक्त नहुने भन्दै सञ्चारकर्मीहरूले आधिकारिक स्पष्टताको प्रतीक्षा गर्न आग्रह गरेका छन्।
अरिजित सिंह भारतीय फिल्म उद्योगका सबैभन्दा सफल प्लेब्याक गायकमध्ये एक हुन्। ‘तुम ही हो’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘अपना बना ले’, ‘ओ माही’ जस्ता उनका गीत अत्यन्त लोकप्रिय छन्। नेपालमा पनि उनका लाखौं प्रशंसक छन् र उनले दुई वर्षअघि काठमाडौंमा भव्य कन्सर्ट गरेका थिए।
प्लेब्याक गायनबाट सन्यास लिएको विषयमा आधिकारिक जानकारी आएपछि मात्रै यथार्थ विवरण स्पष्ट हुने बताइएको छ।







प्रतिक्रिया