प्रतिनिधि सभा निर्वाचनमा म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मन्त्री महावीर पुनले आफू चुनावी मैदानमा उत्रिनुको कारण सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै पुनले आफूले प्रस्ताव गरेका तीन ओटा अध्यादेश र चार ओटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार नगरेकाले चुनाव लड्ने निर्णय लिनुपरेको बताएका छन्।
पुनले शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा आमूल सुधार ल्याएर देशलाई समृद्ध बनाउने लक्ष्यसहित ती अध्यादेश र नियमावली अघि बढाएको उल्लेख गर्दै ती स्वीकृत भएको भए आफू चुनाव नलड्ने स्पष्ट पारेका छन्। “शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने थियो, तर मैले ल्याउन खोजेका अध्यादेश र नियमावली स्वीकार नभएपछि चुनावमा जान बाध्य भएँ,” उनले लेखेका छन्।
विशेषगरी विज्ञान र प्रविधिको विकासका लागि छुट्टै र शक्तिशाली ‘विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने आफ्नो योजनामा मुख्य सचिव सुमनराज अर्यालले अवरोध सिर्जना गरेको आरोप पुनले लगाएका छन्। “एउटा बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झाए, त्यसपछि म्याग्दीतिर दगुरें,” उनले टिप्पणी गरेका छन्।
प्रशासकीय नेतृत्वबाट सहयोग नपाएपछि निराश बनेका पुन हाल आफ्नो निर्वाचन क्षेत्र म्याग्दीका दुर्गम भेगमा चुनावी प्रचारप्रसारमा सक्रिय भइसकेका छन्। बुधबार बिहानै उनले मुना गाउँतर्फ प्रचारका लागि उकालो लागेको जानकारीसमेत दिएका छन्।
नेपालमा आविष्कार र प्रविधिको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले मन्त्री पदमा रहँदा नीतिगत सुधारको प्रयास गरे पनि कर्मचारीतन्त्रको असहयोगका कारण योजना कार्यान्वयन हुन नसकेको भन्दै अब प्रत्यक्ष राजनीति र संसदीय बाटो रोजेको संकेत गरेका छन्।









प्रतिक्रिया