नासाको ‘आर्टेमिस–२’ मिसन: सर्वसाधारणको नाम चन्द्रमाको कक्षमा पठाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो ऐतिहासिक ‘आर्टेमिस–२’ मिसन अन्तर्गत विश्वभरका सर्वसाधारणलाई आफ्नो नाम चन्द्रमाको कक्षमा पठाउने अवसर दिएको छ। इच्छुक जोकोहीले नासाको आधिकारिक वेबसाइटमार्फत आज (बुधबार)सम्म निःशुल्क आवेदन दिन सक्ने नासाले जनाएको छ।

नासाका अनुसार संकलन गरिएका नामहरूलाई एउटा डिजिटल मेमोरी कार्डमा सुरक्षित गरी ‘ओरियन’ स्पेसक्राफ्टभित्र राखिनेछ। उक्त स्पेसक्राफ्टले चन्द्रमाको परिक्रमा गरेर पुनः पृथ्वीमा फर्कने कार्यतालिका छ। नाम दर्ता गर्ने सहभागीले एउटा ‘डिजिटल बोर्डिङ पास’ समेत प्राप्त गर्नेछन्।

‘आर्टेमिस–२’ मिसन सन् १९७२ मा सम्पन्न ‘एपोलो–१७’ पछि करिब ५० वर्षभन्दा बढीको अन्तरालमा चन्द्रमाको कक्षमा मानव पठाइने पहिलो मिसन हो। यस मिसनमा चार जना अन्तरिक्ष यात्री सहभागी हुनेछन्, जसले पृथ्वीको तल्लो कक्षभन्दा टाढा पुगेर अन्तरिक्ष सञ्चालन, लाइफ सपोर्ट सिस्टम र सञ्चार प्रविधिको परीक्षण गर्नेछन्।

नासाका अनुसार यस मिसनको मुख्य उद्देश्य भविष्यमा चन्द्रमामा मानव बस्ती विकास गर्ने र त्यहाँबाट मंगल ग्रहसम्मको यात्राका लागि आवश्यक आधार तयार गर्नु हो। यसअघि सन् २०२२ मा ‘आर्टेमिस–१’ मिसन सफलतापूर्वक सम्पन्न भइसकेको छ।

हाल फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा आर्टेमिस–२ का लागि रकेट र स्पेसक्राफ्टको अन्तिम तयारी तथा परीक्षण भइरहेको नासाले जनाएको छ। नासाले यो अभियानलाई सर्वसाधारणलाई अन्तरिक्ष अन्वेषणको ऐतिहासिक यात्रासँग जोड्ने विशेष अवसरका रूपमा व्याख्या गरेको छ।