विपिन कार्की–मिरुना मगरको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा रिलिज हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अभिनेता विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको नेपाली सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा रिलिज हुने भएको छ। निर्देशक नवीन चौहानले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै फिल्म युट्युबमार्फत सार्वजनिक गर्न लागिएको बताएका हुन्।

निर्देशक चौहानका अनुसार फिल्म बिहीबार, माघ ८ गते युट्युबमा रिलिज हुनेछ। दर्शकले निर्माता कम्पनी आर्टमाण्डूको आधिकारिक युट्युब च्यानलमार्फत फिल्म हेर्न सक्नेछन्।

‘ऊनको स्वीटर’ २६ वैशाखमा देशभरका हलमा रिलिज भएको थियो। चलचित्र विकास बोर्डको आधिकारिक बक्सअफिस विवरणअनुसार फिल्मले १० करोड ६२ लाख रुपैयाँ ग्रस कमाएको छ भने निर्माताले १२ करोड रुपैयाँ ग्रस कलेक्सन भएको दाबी गरेका छन्।

यस फिल्मले भारतमा मात्रै करिब डेढ करोड भारतीय रुपैयाँ कमाएको विवरण पनि हालै सार्वजनिक भएको थियो। सुन्दर र सरल प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्र हो।

फिल्ममा विपिन कार्की र मिरुना मगरसँगै सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमु, शारदा देवी सिलवाल र मेनुका प्रधानलगायत कलाकारहरूको अभिनय रहेको छ।

हलमा सफल प्रदर्शनपछि अब युट्युबमार्फत विश्वभरका दर्शकले ‘ऊनको स्वीटर’ हेर्न पाउने भएका छन्।