आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको हो।
विश्वकपअगाडि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यक्रम रहेकाले नेपाली टोलीलाई आजै बिदाइ गरिएको हो। टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ।
बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले विश्वकपमा सहभागी हुन लागेको नेपाली टोलीलाई शुभकामना दिए।
‘यो विश्वले पनि हेर्ने प्रतियोगिता हो। हामी राम्रो गर्दै आएका छौं। विश्वकपका लागि खेलाडी र व्यवस्थापन टोली सबैलाई शुभकामना छ,’ खड्काले भने, ‘भारतमा नेपाली समर्थकहरूले पनि साथ दिनुहुनेछ भन्ने विश्वास छ।’
टोलीका कप्तान रोहित पौडेलले तयारी सन्तोषजनक रहेको बताए।
‘तयारी राम्रो भइरहेको छ। अभ्यासले राम्रो बिल्डअप भएको महसुस भएको छ,’ उनले भने, ‘सन् २०२५ राम्रो भएको थियो, आशा छ यो वर्ष पनि उत्कृष्ट रहनेछ। हामी सबै नेपालीलाई गर्व गराउने प्रयास गर्नेछौं।’
प्रशिक्षक स्टुअर्ट लले पनि टोलीले विश्वकपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
‘अभ्यासमार्फत योजनालाई अन्तिम रूप दिँदैछौं। विश्वकपमा राम्रो प्रदर्शन गरेर सम्पूर्ण नेपालीलाई खुसी दिनेछौं,’ उनले भने।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि तयारी राम्रो देखिएको बताउँदै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
‘तयारी निकै राम्रो छ। भारतको कन्डिसन पनि मिल्दोजुल्दो छ। राम्रो प्रदर्शन गर्नुहोस्, शुभकामना,’ चन्दले भने।
नेपाली टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि टोलीले श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग र भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास खेल खेल्ने कार्यक्रम छ।
आईसीसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली यसअघि नै घोषणा भइसकेको छ।







प्रतिक्रिया