नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विभाजन गर्ने प्रयास लोकतन्त्रलाई कमजोर पार्ने खेल भएको बताएका छन्। राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस लोकतन्त्र ल्याउने र जोगाउने ठूलो शक्ति भएकाले बाह्य तत्त्वले पार्टी कमजोर पार्न खोजेको दाबी गरे।
ओलीले कांग्रेसभित्रको विवाद समाधान गर्न स्पष्ट कानुन र ऐन रहेको भन्दै निर्वाचन आयोगले त्यसमा हस्तक्षेप गर्न नहुने बताए। ‘के निर्णय गर्ने भन्ने कुरा कानुनले स्पष्ट गरेको छ,’ उनले भने, ‘तर विशेष महाधिवेशन किन भनिएको ? महाधिवेशनको मिति तोकिसकिएको छ, कसले बोलाउने भन्ने पनि थिति छ।’
उनले बहुमत–अल्पमतको निर्णय संस्थागत प्रक्रियाबाट हुने उल्लेख गर्दै सडकमा बहुमत देखाएको दाबीले मान्यता नपाउने बताए। समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको आरोप लगाउँदै उनले प्रजातन्त्र कमजोर पार्ने तत्त्व हावी भएको दाबी गरे।
ओलीले नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु लोकतन्त्रका लागि दुःखद भएको भन्दै न्याय निरुपण गर्ने निकायमा बसेकाहरूलाई समेत त्रसित बनाउने काम भएको बताए। ‘जानीबुझीकन यो काम गरिएको छ,’ उनले भने, ‘डेमोक्रेसी मिचिँदा सबै एकजुट हुनुपर्ने बेला कांग्रेसभित्र अनावश्यक विवाद निकालेर फुटाइएको छ।’
एमालेभित्रका सानातिना असन्तुष्टि अहिलेका लागि थाती राख्न आग्रह गर्दै ओलीले लोकतन्त्र, शान्ति, सुशासन र विकासका लागि एकजुट भएर लड्नुपर्ने बताए। लोकतन्त्र बच्यो भने मात्रै स्वस्थ प्रतिस्पर्धा सम्भव हुने उनको भनाइ थियो।
उनले लोकतान्त्रिक शक्तिमाथिको आक्रमणविरुद्ध सबै एकजुट हुनुपर्ने बेला आएको उल्लेख गर्दै संविधान, राजनीतिक पार्टी र विधिसम्मत प्रणाली कमजोर पार्ने प्रवृत्तिले देशलाई अराजकतातर्फ धकेल्ने चेतावनी दिए।









प्रतिक्रिया